नेपालमा विद्युतिय अपराधसम्वन्धि कानुनको स्थापना ः
नेपाली बजारमा विभिन्न ठूला ठूला अन्तराष्ट्रिय कम्पनीहरुले विद्युतिय कारोवार निकै अगाडिदेखि गर्दै आएका छन् । उनिहरुले नेपालमा साइवर कानुनको स्थापना विना नै आफ्नो कार्यहरु अगाडी बढाइरहेको बेला नेपाल सरकार अन्तराष्टिय मान्यताअनुरुप अगाडी बढ्नको निम्ति आफ्नो पनि साइवर कानुन बनाउनुपर्ने बाध्यतामा पुग्यो र साइवर अपराधलाई कानुनको अधिनमा ल्याउनको लागि निर्मित एउटा समितिले फेवु्रअरी ४, २००४ मा संसद सामु आफ्नो प्रतिवेदन प्रस्तुत गर्यो र संसदीय प्रक्रियामा विभिन्न झण्झट बेहोर्दै सन् २००६ मा एउटा साइवर कानुनको स्थापना भएर कार्यान्वयन प्रक्रियामा अगाडी बढ्यो । त्यस कानुनको मुख्य उद्देश्य भनेको विद्युतिय कारोबारलाई व्यवस्थापन गर्नु र विद्युतिय हस्ताक्षर लगायत अन्य कारोवारहरुलाई अनुगमन गर्दै व्यक्तिगत तथा सार्वजनिक कारोवारहरुको संरक्षण र सम्बद्धन गर्नु तथा साइवर अपराधको अनुगमन गर्दै अपराधीलाई दण्ड दिनु रहेको छ । उक्त कानुनमा १२ धारा र ७९ उपधारा रहेका छन् । साइवर अपराधलाई अन्त्य गर्नको लागि प्रत्येक जिल्लाअदालतमा साइवर अपराध हेर्ने व्यवस्था मिलाइएको छ ।
साइवर अपराध के हो ?
विभिन्न अवान्छित कार्यहरु जस्तै सोर्सकोडको चोरी, विद्युतिय सामाग्रीको अबैधानिक प्रयोग, कम्प्यूटर र कम्प्यूटर सिस्टममा आक्रमण, अबैधानिक प्रकाशन, गोप्यता भंग, गलत सुचनाको प्रवाह आदि गर्नुलाई साइवर अपराध भनिन्छ ।
जव साइवर अपराध सम्बन्धि कानूनको निर्माण भयो, त्यसपछि विद्युतिय कारोवार गर्ने विभिन्न कम्पनीहरु आफ्नो कारोवारप्रति ढुक्क हुने अवस्था सिर्जना भएको छ । विशेष गरेर सूचना प्रविधिको निकै ठूलो फड्को मारेको नेपालको बैंकिङ्ग क्षेत्रलाई यसबाट ठूलो लाभ पुगेको छ किनकी बैंकहरुले प्रदान गर्ने विभिन्न सुविधाहरु एस्.एम्.एस्. बैंकिङ्ग, ए.टी.एम्., क्रेडिट कार्ड सुविधा तथा इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरुप्रति सर्वसाधारण पनि ढुक्क हुने अवस्था आएको छ ।
साइवर अपराधको प्रवृत्ति
नेपालको साइवर अपराध विभागमा प्राप्त रीपोर्ट अनुसार विभिन्न कम्पनीहरुमा आउने गरेका हटमेल, याहुमेल, जीमेलहरुका स्पाम म्यासेजहरु जसमा पैसाको माग रहेको हुन्छ, पत्रिकाका वेवसाइटहरुको ह्याकिङ, वास्तविक सूचनाको परीवर्तन, नग्न केटीहरुको फोटो र पोर्न साइटका लिङ्क तथा व्यक्तिगत गोप्यताको भंग आदि साइवर अपराधका प्रकृतिहरु हुन् जुन तपाइ हाम्रो इमेलमा पनि वारम्वार आइरहन्छ ।
साइवर अपराध हेर्ने आधिकारीक निकाय
नेपालमा साइवर अपराध हेर्ने आधिकारीक विभाग नेपाल प्रहरी रहेको छ र यस सम्वन्धि सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीले गर्नेछ र आवश्यकता अनुसार अदालतको कठघरामा समेत उभ्याउन सक्नेछ । जसकालागि साइवर कानुन अनुसार कुनै पनि व्यक्ति वा संस्थाले साइवर अपराध गरेका थाहा पाएमा ३५ दिन भित्र प्रहरीमा खवर गर्नुपर्ने हुन्छ ।
साइवर अपराधको दण्ड सजाँय
नेपालको साइवर कानुन अनुसार कुनैपनि व्यक्ति वा संस्थाले साइवर अपराध गरेका प्रमाणित भएमा अपराधको प्रवृत्ति हेरी ५०,००० देखि ३,००,००० सम्म जरीवाना र ६ महिना देखि ५ वर्ष सम्मको कैदको व्यवस्था रहेको छ ।
साइवर अपराधको अन्त्यका लागि नेपाल सरकारको अग्रसरता
राष्ट्रिय रुपमा इन्टरनेटको अत्यधिक बढ्दो प्रयोगसँगै साइवर अपराधको पनि विभिन्न घटनाहरु बढिरहेको छ जसमा देश भित्र तथा देश वाहिरबाट हुने विभिन्न आक्रमणहरुले साइवर कानुनलाई समेत चुनौति थपेको छ । यस्ता किसिमका अपराधका लागि नेपाल सरकारले एक्लै कार्य गर्न नसक्ने हुनाले अन्तराष्ट्रिय स्तरमै अपराधको विरुद्ध विभिन्न सन्धि तथा सम्झौताहरुमा हस्ताक्षर गरेर नेपाल सरकारले पनि साइवर अपराधको निकारणका लागि अग्रसरता देखाएको छ ।
साइवर अपराधले थपेका चुनौतीहरु
साइवर अपराध विशेष गरेर इन्टरनेटबाट हुनेगर्छ र इन्टरनेटको नियन्त्रण संभव नभएकाले यसले साइवर अपराधको निराकरणका लागि खुलेका संस्थाहरुलाई ठूलो चुनौति दिएको छ । यति मात्र नभएर त्यस्ता संस्थामा दक्ष जनशक्तिको अभावमा साइवर अपराध विकराल रुप लिदै मौलाएको छ । विशेष गरेर साइवर अपराध निकै दक्ष र प्राविधिक व्यक्तिबाट गरीने हुनाले कसरी अपराध भयो भन्ने द्धिविधा र यसको निराकरणको कुनै निर्दिष्ट उपाय नहुने हुनाले यसको अन्त्य गर्न चुनौती थपिएको छ ।
साइवर अपराधको अन्त्यका लागि नेपाल प्रहरीको अग्रसरता ः
नेपाल प्रहरी साइवर अपराधको अनुसन्धान गर्ने र कारवाहीको लागि सिफारीस गर्ने आधिकारीक संस्था भएको हुनाले यसले साइवर अपराधको अन्त्यका लागि विभिन्न कार्यको थालनी गरेको छ जस अन्तर्गत मोवाइल फोन, तारविहिन प्रविधि र प्रोक्सी ठेगानाको अनुगमन, मातहतका प्रहरीलाई साइवर अपराध सम्वन्धि विशेष तालिमको व्यवस्था, सामाजिक सचेतनाका कार्यक्रमहरु, अन्तराष्ट्रिय अपराधको सम्वन्धित निकायमा तुरुन्त सूचना प्रवाह र छिमेकी देशहरुसँगको सहकार्य गर्दै आएको छ ।
सामान्यतया साइवर अपराधका घटनाहरुमा व्लाकमेलीङ, इमेलमा आउने धम्की, कम्प्यूटरको सूचना चोरी, पाइरेसी, ह्याकिङ, समाजमा असर गर्नेगरी इन्टरनेटको प्रयोग, व्यक्तिगत सूचनाको भंगता, ए.टी.एम्.बाट पैसा चोरी, इन्टरनेटबाट गरीने प्रोमो, कम्प्यूटर भाइरसको निर्माण, सरकारी वेवसाइटको सूचना चोरी, जस्ता घटनाहरु नेपालमा देखिने साइवर क्राइमका उदाहरण हुन् ।
निष्कर्ष
हामी वास्तवमा इतिहासका त्यस्ता रोचक पानाहरुमा आफ्नो कार्य गरीरहेका छौँ त्यो वास्तवमै निकै उत्साहजनक रहेको छ र इन्टरनेटको प्रयोगले हामीलाई संसारलाई नै सानो कोठामा बसेर हेर्न मिल्ने बनाइदिएको छ, जहाँ हामी विभिन्न किसिमका शैक्षिक सामाग्रीहरुको प्रयोगले व्यक्तिगत दक्षता र क्षमतालाई सुदृढ गर्न विशेष सहयोग गर्दछ । विशेष गरेर इन्टरनेटको प्रयोग कुनैपनि सकारात्मक कार्यका लागि प्रयोग गरीने भएपनि केही व्यक्तिहरुले यसको प्रयोग गरेर विभिन्न किसिमका अपराधिक कार्यहरु गरीरहेका छन् ।
यसको निराकरणका लागि हामीले आफूले पनि विभिन्न किसिमका अपराध सम्वन्धि सामाग्रीहरुको अध्ययन गर्ने र अरुलाई पनि यस सम्वन्धि बुझाउने तथा कतै अपराधीक कार्य भएको पाइएमा सम्वन्धित निकायलाई खवर गर्नुपर्छ र हामीले आफूलाई सभ्य नागरिकको उदाहरण दिनुपर्दछ ।
No comments:
Post a Comment