प्रिय
खै कसरी सम्बोधन गरुँ तिमीलाई सम्बोधनका शव्द चयनमा निकै शास्ती भोगेकै कारण मेरा सवै इन्द्रियहरु यि पानाहरुमा ज्यादै केन्द्रित छन् । सँधैजसो शान्त रहने मेरा मन मुटु र धड्कनहरु खै किन किन तिम्रो दर्शनभेट पछि उथलपुथल भएका छन् । मैले निकै कोशिष गरेँ जुर्मुराएका यी धड्कनहरुलाई ठेगान लगाउन तर अँहँ मेरो सामथ्र्यले छेउटुप्पो भेट्टाउन सकेन र आज तिम्रो सहाराको खोजीमा यो पत्रमा घोरीइरहेको छु ।
जीन्दगीका अनेकौँ बसन्तहरु पार गर्ने क्रममा धेरै घुम्ति उकाली ओरालीहरुलाई झेल्दै आउँदा आज मेरो जीवनमा यस्तो मोड आइपुग्यो जहाँ तिम्रो परिचय भएकै मितीदेखि मेरा शरिरका सम्पूर्ण पाटपुर्जाहरुले काम गर्न छोडेका छन् । खै किन किन सवै कोषहरु चौविसै घण्टा तिम्रै सोचाइमा घोत्लिइरहन्छन् । जीन्दगीका हरेक मोडहरुलाई चुनौती गर्दै जानेक्रममा कुनैवेला त यस्तो मोड आउदो रहेछ जहाँ सोच्दै नसोचेको व्यक्तिसँगको पहिलो भेटमै चुम्वकीय आकर्षणको सिद्धान्तलाई अनुशरण गर्दै दुई मुटुको वीचमा तरंग पैदा हुँदोरहेछ । मेरो मुटुको हरेक धड्कनमा तरंगीत तरंगहरुलाई मापन गर्ने कुनै एकाई आजसम्म पाएको छैन । के हामीवीच प्रेमका धुनहरु बज्न सुरु गरेका हुन् त म आफैलाई प्रश्न गर्छु तर थाहाछैन यो मेरो एकतर्फी माया हो वा तिमीलाई पनि त्यस्तै भएको छ आज यहि जानकारीका पोकोहरु तिमीसामु फुकाउदैछु दिल खोलेर फुकाउदैछु । आशा छ तीम्रा मनले यी भावनाहरुको सम्मान गर्नेछन् ।
आजभोली म काल्पनिक संसारमा निकै डुब्न थालेको छु आफूलाई रोमान्टीक मुडमा जति ढाल्न खोजेपनि भित्रबाट निर्देशित यो अनुहारको चेहरा बदलिन सक्दोरहेनछ । बाहिरी रुपमा जति हाँस्न खोजेपनि भित्र भित्र मुटु त्यसै भक्कानिदोरहेछ । आजभोली मलाई हरपल तिम्रो सम्झनाले निकै पिरोलिरहेको छ । वास्तवमा सम्झना हरकोहीलाई मिठो लाग्छ किनभने सम्झना मन र मस्तिष्कको मिठो मिलनबाट उत्पादीत एक क्षण हो । यसमा कसैको मिठो त कसैको तीतो अतित लुकेको हुन्छ । हो त्यस्तै यादहरु सम्झनाहरु मेरो मन अनि मष्तिष्क पनि समाहित छन् । मानव जीवनमा धेरै उतारचढावहरु आउने गर्दछन् । कहिले खुसी कहिले रोदन कहिले असीमित हाँसो त कहिले सहनै नसक्ने पीडाहरु । यस्तै यस्तै घटनाहरुको संयोजनबाट जीन्दगी चलिरहेको हुन्छ । तिनै घटनाहरुमध्ये कुनै यस्तो घटना हुन्छ जुन घटनाले वारम्वार मानिसको मन मस्तिष्क अनि सोचाइहरुलाई घच्घच्याएर झन असैह्य पीडा दिइरहेको हुन्छ । आज मेरो जीवनमा त्यस्तै घटनाको एउटी पात्र तीमी बनेकी छौ ।
जव म तिमीसँग नजीक हुने मौकाहरु पाउदै गएँ त्यसपछि तिमीलाई धेरै नजिकबाट नियाल्ने कोसिष गरेँपनि । आज त्यही कोसिषहरुको निष्कर्ष निकाल्नको निमित्त मुटु दह्रो पारेर भावनाका छालहरु पोख्दैछु । तिम्रो मित्रतालाई म कुन शव्दले बयान गरुँ सारा शव्दकोषहरु रित्तिन्छन् तैपनि तिम्रो वयान अपुरो अनि अधुरो हुन्छन् । यदि मैले सागरको गहिराइसँग तिम्रो मित्रतालाई दाँजे भने सागरको गहिराइलाई कमै ठान्छु म । यदि तिमीले मप्रति देखाएको व्यवहारलाई आकाशसँग दाँजे भने पनि आकाशको चौडाइलाई कमै ठान्छु म । तिमी त मेरो निम्ती बाटो पहिल्याइदिने एक पथ प्रदर्शक हौ मेरो सफलताको हर श्रेय तिमीमानै जान्छ । भन्ठान मेरो मनमा तिम्रो निम्ति एउटा देवीकै दर्जा छ । वास्तवमा मित्रता र प्रेम भन्नेकुरा अविनासी कुरा हो । बरु सारा संसार जलेर जाला तर प्रेम जल्दैन मित्रता ढल्दैन । आज मेरो जीवनमा तिमी एउटी विस्रनै नसक्ने मानिस बनेर उभिएकी छौ । मैले जीवनमा आज निकै असल मान्छे पाएको छु भन्ने लागेको छ तिमी मेरो मनसपटलमा एउटी असल मान्छे बनेर छाएकी छौ । म सदा तिमीलाई श्रद्धा गर्छु तर मेरो श्रद्धाको सम्मान गर्छौ भन्ने पनि आशा गर्दछु । जसरी आत्मा विनाको शरिरको कुनै औचित्य हुँदैन आज मलाई यस्तो लाग्न थालेको छ तिम्रो मित्रताविना मेरो जीवनको कुनै औचित्य छैन किनकी तिम्रो मित्रताविना यो जीवन अत्यन्त अनियन्त्रित हुनेछ मान माझि विनाको डुंगा जस्तै अस्थिर अनि लगाम विनाको घोडाजस्तै वशहिन ।
यो मनभित्रबाट निस्कने छालहरुलाई जति पोखेपनि रोकिन्नन् वरु उल्टो जोड जोडले निस्कन थाल्छन् । जति भनेपनि सार तत्व एउटै हो । मेरा यी छरप्रष्ट सोचाइहरुलाई लगाम लगाएर वशमा पार्नेछौ मेरा यी टुकि्रएर रहेका मनहरुलाई एकै ठाँउमा समेट्न सक्षम हुनेछौ भन्ने आशा जीवीतै भएको पनि जानकारी गराउँदै मेरो प्रत्येक सपनीमा आउने तिम्रा हरेक तिम्रा हरेक आगमनलाई मैले पुष्पगुच्छाले स्वागत गरेर राखीरहेको कुरा पनि व्यक्त गर्न चाहन्छु । अव म तिम्रो सहाराको निम्ती ढोका ढकढक्याउन आएको छु मनको दैलो उघारेर वास दिने वा नदिने भन्नेकुरा तिमीमानै निहीत रहेको छ । र अन्तमा तिम्रो आगाढ प्रेरणा तिमीले हिँड्न सिकाएका बाटो र तिमीले मार्गनिर्देशन गरि देखाएको जीवनको अत्यन्त उत्तम अनि उत्कृष्ट पथमा हिड्ने प्रयासरत आगामी जीवनका मोडहरु छोड्दै मिठो माया अतुलनीय विश्वास र तिम्रो यादको सुमधुर सम्झना बटुल्दै विदा माग्छु ………………।
उही तिम्रो वि.पी. पोखरेल